दोर्जी तामाङ, मंसिर २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय रैथाने बालीको उत्पादनमा कमी आएको छ भने त्यसको मूल्य भने आकासिएको छ । कृषकहरुले खेति कम गर्न थालेको तर उपभोक्ताहरुले बढी प्रयोग गर्न थाले पछि बजारमा रैथाने बालीको मूल्य आकासिदा उत्पादनमा कमी देखिएको हो । जिल्लाको सदरमुकाम सल्लेरी नजिकै रहेको स्थानीय व्यापारिक केन्द्र नयाँ बजारमा जिल्लाभरिका सीमित मात्रामा रैथाने बाली देख्न पाइन्छ । पछिल्लो समय कम मात्रामा उपलब्ध हुने रैथाने बालीको मूल्य निकै महँगो रहेको छ ।

जिल्लाका प्रायः सबै स्थानमा उत्पादन हुने मकैबाट बन्ने फाल्गी अहिले कम मात्रामा बनाउने गरिएको व्यापरीहरु बताउछन् । स्थानीय बजारमा फाल्गीको मूल्य पाथीको ४ सय रुपैयाँसम्म पुगेको छ । सोलुदुधकुण्ड नगरपालिका–६ भित्ताखर्ककी पासाङल्हामु तामाङका अनुसार केही वर्षअघिसम्म यही फाल्कीको मूल्य करिब २ सय रुपैयाँ थियो । अहिले फाल्गी उपभोग गर्ने धेरै रहेको तर बजारमा सजिलै नपाउने भएकाले पनि मुल्य वृद्धि भएको उहाँको भनाई छ । यसैगरी सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका बलराम तामाङका अनुसार कुनै समय ५० देखि ६० रुपौयाँमा पाइने रैथाने बालीहरु मध्ये हाल भटमास मानाको १ सय रुपैयाँ, स्थानीय मकै पाथीको २ सय ६० रुपैयाँ र कोदो पाथीको २ सय ५० रुपैयाँमा बिक्री भइरहेको बताउनुभयो ।

यता बजारमै रैथाने बाली बिक्री गर्दै आउनुभएकी नेचासल्यान गाउँपालिकाकी बसन्ती राईले तिङ्लाकै बेसिमा उत्पादन भएको एक पाथी चामलको मूल्य ६ सय ५० रुपैयाँ पुगेको बताउनुभयो । यस बर्ष प्रतिकुल मौसमका कारण धानबालीमा क्षेति पुगेको गुनासो गर्नुभयो । तिङ्लाकै पदमबहादुर भुजेलले शनिबारे हटियामा फापर पाथीको ३ सय रुपैयाँ, सेतो मकै पाथीको २ सय ४० रुपैयाँ र गहुँ पाथीको ४ सय रुपैयाँ बिक्री गरेको बताउनुभयो । यसैगरी वि.सं. २०४८ सालदेखि सल्लेरीमा व्यापार गर्दै आउनुभएका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ का बलबहादुर भुजेलले सल्लेरीमा जौ मानाको ५० रुपैयाँ, मस्याङको १ सय रुपैयाँ र कालो दालको १ सय ३० रुपैयाँ मूल्यमा बिक्री गरिरहनु भएको छ ।

स्थानीय किसान, व्यापारी तथा जानकारहरूका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, सहरमुखी बसाइँसराइ तथा पर्यटन व्यवसायप्रति आकर्षण बढ्दा परम्परागत खेतीमा संलग्न जनशक्ति घट्दै गएको हो । यसले रैथाने बालीको उत्पादनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ । यस्तै आधुनिक तथा आयातित खाद्यान्न सहज रूपमा उपलब्ध हुन थालेपछि किसानहरू रैथाने बालीभन्दा नगदे तथा बजारमुखी बालीतर्फ आकर्षित भएका छन् । जसका कारण परम्परागत बालीको खेती क्रमशः घट्दै गएको छ । उन्नत बीउ, प्रविधि र सिंचाइको अभाव पनि अर्को प्रमुख कारण बनेको छ ।

रैथाने बालीका बीउ संरक्षण तथा प्रवद्र्धनमा पर्याप्त ध्यान नपुग्दा उत्पादन बढ्न सकेको छैन। साथै वन्यजन्तु तथा रोग–कीराको समस्याले समेत बाली नष्ट हुने गरेको छ । जलवायु परिवर्तनको असरले पनि उत्पादन घट्न सहयोग पु¥याएको छ । अनियमित वर्षा, असिना, सुख्खा तथा हिउँदे वर्षा घट्दा बाली लगाउने र भित्र्याउने समय प्रभावित भएको किसानहरूको गुनासो छ । यद्यपि पछिल्लो समय स्वास्थ्यप्रति सचेतना बढेसँगै रैथाने बालीको माग भने बढ्दै गएको छ ।












Discussion about this post