सबिना राई,मंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ रोशीका ७६ वर्षीय डम्बर बहादुर बस्नेतको डोको पछिल्ला तीन हप्तादेखि बजारमा थ न्किएको छ । हरेक शनिबार सदरमुकाम सल्लेरीमा लाग्ने हटियामा डोको बेच्दै आएका बस्नेत यसपटक भने निराश मुद्रामा घर फर्किन बाध्य भएका छन् । खस्रे निगालो, सिगाने निगालो र दुधे निगालोबाट आफ्नै हातले बुनेका डोको लिएर उनी बिहान ८ बजे नै शनिबारे बजार पुग्छन् ।

ठूला डोको एक हजार रुपैयाँ र साना डोको दुईदेखि तीन सय रुपैयाँमा बिक्री गर्दै आएका बस्नेतले एक पटकमा ४० देखि ५० वटासम्म डोको बिक्रीका लागि ल्याउने गरेका छन् । तर पछिल्लो समय आधुनिक सामग्रीको प्रयोग बढ्नु, किसानहरूले खेतिपाती कम गर्नु जस्ता कारणले डोकोको माग घट्दै गएको उनी बताउँछन् । “पहिले डोको बिना किसानको काम चल्दैनथ्यो,” उनी भन्छन्, “अहिले प्लास्टिकका बोरा र आधुनिक साधन आए, डोकोको दिन घट्दै गयो ।” केही वर्षअघिसम्म डोको बेचेरै वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गरेका बस्नेतका लागि अहिले तीन हप्ता लगातार बिक्री कम हुनु चिन्ताको विषय बनेको छ ।

बस्नेतले पहिले धेरैले खेतिपाती गर्ने भएकाले कम्तीमा पनि एक सय देखि १ सय ५० वटा सम्म डोको बिक्री गरेको सुनाउछन् । अहिले बिक्री हुदै नहुने भने हैन तर पहिलेको तुलनामा झाट्टफुट मात्र बिक्री हुने गरेको बताउछन् । करिब १२–१३ वर्षदेखि डोको व्यवसायमा लागेका बस्नेतले यसअघि भैंसीपालन पनि गर्थे । उमेर बढ्दै जाँदा त्यो काम छाडेर उनी डोको बुन्नतर्फ लागे । अहिले पनि उनी हप्तामा ५–६ वटा डोको घरमै बुन्छन् भने बाँकी अरूले बुनेका डोको संकलन गरेर बजारमा बिक्री गर्छन् । डोको बुन्न सजिलो छैन ।

चोया काट्दा हात कट्ने, पुस–माघको चिसोमा काम गर्न झन् कठिन हुने अनुभव उनी सुनाउँछन् । “सानैदेखि दुःख गरेर बाँचियो,” उनी भन्छन्, “सायद त्यही भएर अहिले पनि काम गर्न मन लाग्छ । उनका सात सन्तानमध्ये दुई जनाको निधन भइसकेको छ भने बाँकी पाँच जना सन्तान आफ्नो मेहनतले शिक्षित बनेका छन् ।

केही छोराछोरी शिक्षकसमेत भएका छन् । बेचेरै छोरा–बुहारीलाई घरसमेत बनाइदिएको गर्व उनीसँग छ । तर अहिलेको पुस्ताले त्यो दुःख गर्न नमान्ने उनको गुनासो छ । “मेरो दुःख देखेरै होला, छोराहरूले यस्तो काम गर्न चाहँदैनन्,” उनी भन्छन् । तीन हप्तादेखि नबिकेको डोकोसँगै डम्बर बहादुरको अनुहारमा पनि चिन्ता थपिएको छ । परम्परागत सीप र मेहनतले जीवन चलाउँदै आएका उनका लागि डोको केवल व्यापार मात्र होइन, जीवनको संघर्ष र पहिचान पनि हो ।











Discussion about this post