मंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शनिबार न्यानो कपडा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाडो बढ्दै गएको अवस्थामा जेष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत पुर्याउने उद्देश्यले कपडा वितरण गरिएको हो ।
वडा नम्बर ३ पन्चनका वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । स्थानीय तह र समाजसेवीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले जाडो मौसममा लक्षित समुदायलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिएको छ ।











Discussion about this post