मंसिर २७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ स्थित थर्पुडाँडा माध्यमिक विद्यालयले वार्षिक शैक्षिक क्यालेन्डर अनुसार कक्षा १० का विद्यार्थीका लागि शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले प्रत्यक्ष अवलोकनमार्फत व्यवहारिक सिकाइ गर्न सकून् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त शैक्षिक भ्रमण अन्तर्गत नेपालकै अनुकरणीय संस्था शुभम फाउन्डेसन तथा धार्मिक एवं पर्यटकीय स्थल भुलभुले दूधकुन्डको अवलोकन गराइएको थियो ।
भ्रमणका क्रममा विद्यार्थीहरूले धार्मिक तथा प्राकृतिक सम्पदाको महत्वबारे प्रत्यक्ष जानकारी हासिल गरेका थिए । यस प्रकारको सिकाइले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग पुग्ने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक ज्ञानु राईका अनुसार उक्त शैक्षिक भ्रमण शुक्रबार सफलतापूर्वक सम्पन्न भएको हो ।
उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान, सीप र सोचाइ विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखी यस्ता शैक्षिक तथा रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।












Discussion about this post