मंसिर २८, सोलुखुम्बु । सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित “गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजना” अन्तर्गत प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूका लागि “प्रारम्भिक सिकाइ तथा विकास मापदण्डहरू” विषयक ५ दिने तालिम कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–४ स्थित सांग्रिला गेस्टहाउस हलमा सम्पन्न भएको छ।
“मर्यादित जीवनका लागि समतामूलक र न्यायिक समाज” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त तालिम कार्यक्रम २०८२ मंसिर २४ गतेदेखि २८ गतेसम्म (डिसेम्बर १०–१४, २०२५) सञ्चालन गरिएको थियो।

कार्यक्रमको सभापतित्व सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष युबास तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकास संयोजक तथा सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा सहभागी हुनुभएको थियो।
तालिममा सहास नेपालका कार्यक्रम संयोजक चुडामणि पडाडी, सहास नेपालका कर्मचारी, प्रशिक्षक रिता तामाङ लगायत पत्रकारकाे सहभागिता थियाे ।
याे कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका दुई ठाउँ गरेर विभिन्न विद्यालयमा कार्यरत ५४ जना प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूको सहभागिता रहेको थियो। सोलुदुधकुण्ड नगरपालिकाबाट २६ जना र थुलुङ दूधकोशी गाउँपालिकाबाट २८ जना शिक्षक सहभागी भएका थिए।

तालिममार्फत बालमैत्री शिक्षण विधि, प्रारम्भिक सिकाइका राष्ट्रिय मापदण्ड, कक्षा व्यवस्थापन, सिर्जनात्मक सिकाइ तथा बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
सभापति युबास तामाङले ECD कक्षा नै विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो खुड्किलो भएकाले यस क्षेत्रमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताउँदै कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो।

प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले तालिममा सिकेका सीपहरू आफूमा मात्र सीमित नराखी अन्य शिक्षकहरूसँग समेत साझा गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
प्रशिक्षक रिता तामाङले तालिम मात्र पर्याप्त नहुने भन्दै यसको निरन्तर साथ, सहयोग र अनुगमन स्थानीय तह तथा सम्बन्धित निकायबाट हुनुपर्नेमा जोड दिनुभयो। साथै प्रारम्भिक बाल विकास कक्षा विद्यार्थीहरूको पहिलो सिकाइ आधार भएकाले यस क्षेत्रमा नेपाल सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम जर्मन कोअपरेसन (German Cooperation), चाइल्डएड नेटवर्क (ChildAid Network) तथा सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
यस प्रकारका तालिम कार्यक्रमहरूले स्थानीय तहमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।












Discussion about this post