मंसिर २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका ६२ जना नागरिकको आँखाको ज्योति फर्किएको छ । सामुदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा आँखा प्रतिष्ठानको आयोजना तथा अन्धापन उपचार परियोजनाको समन्वयमा सञ्चालन गरिएको दुईदिने आँखा शल्यक्रिया शिविरमार्फत उनीहरूको सफल उपचार गरिएको हो ।

मंसिर २७ र २८ गते सञ्चालन गरिएको शिविरमा केही समयअघि जिल्लामा आयोजित बृहत् आँखा शिविरबाट छनोट भएका सेवाग्राहीहरूको शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार पिएचएसीओ प्रविधिबाट २८ जनाको र एसआइसीई प्रविधिबाट ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो भने मासु पलाउने समस्याको शल्यक्रिया ३ जनाको गरिएको छ ।

आर्थिक अवस्था कमजोर तथा घरायसी समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसक्ने जिल्लावासीका लागि आफ्नै क्षेत्रमा दुईदिने शिविर सञ्चालन हुनु ठूलो राहत बनेको ताम्राकारले बताउनुभयो । आँखाको ज्योति फर्किएसँगै सेवाग्राहीहरू हर्षित भएका छन्। लामो समयदेखि आँखाको समस्याका कारण राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले पुनः स्पष्ट देख्न थालेपछि शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आशीर्वाद दिएका छन् ।












Discussion about this post