मंसिर २९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु परीक्षण तथा परामर्श शिविरबाट ४५० जना सेवाग्राही लाभान्वित भएका छन् । “स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने मूल नारासहित सोमबार गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीको नेतृत्वमा रहेको चिकित्सक टोलीले मुटु सम्बन्धी सम्पूर्ण परीक्षण, निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईका अनुसार सेवा सोताङ प्राथमिक अस्पतालको नयाँ भवनबाट प्रदान गरिएको हो । स्थानीय तहले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित रूपमा यस्ता स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरबाट वडा नम्बर १, २, ३ र ५ का नागरिकहरू बढी लाभान्वित भएका छन् । वडा नम्बर ४ का नागरिक तथा विद्यालयका विद्यार्थीहरूलाई समेत समेट्ने उद्देश्यले शिविर भोलि पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ । यस स्वास्थ्य शिविरबाट सोताङ गाउँपालिकाका स्थानीयवासी विशेष रूपमा लाभान्वित हुने अपेक्षा गाउँपालिका प्रशासनले गरेको छ ।











Discussion about this post