मंसिर २९, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा न्यूनतम् पाँच मुरी उत्पादन गर्ने किसानलाई २ हजार ५ सय रुपैयाँ र सोभन्दा बढी उत्पादनमा प्रतिमुरी ३ सय रुपैयाँका दरले प्रोत्साहन दिइँदै आएको छ । पहिलो चरणमा वडा नं. ५ दुर्छिम, ७ महादेवस्थान र ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर रकम वितरण गरिएको छ ।
दुर्छिमका १३ किसानले ६२ हजार २ सय, महादेवस्थानका ४३ किसानले २ लाख ३२ हजार ३ सय र धितुङका १५८ किसानले ७ लाख १० हजार ६ सय रुपैयाँ प्राप्त गरेका छन् । कार्यालय टाढा पर्ने वडा नं. २ डिकुवा र वडा नं. ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत रकम वितरण गरिनेछ । डिकुवाका २४ किसानले २६० मुरी उत्पादन गरी १ लाख २ हजार र राजापानीका २४ किसानले २३१ मुरी उत्पादन गरी ९३ हजार ३ सय रुपैयाँ पाउनेछन् । गत वर्षको तुलनामा यस वर्ष बदाम उत्पादन ४६.३५ प्रतिशतले वृद्धि भएको नगरपालिकाले जनाएको छ ।
यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेका छन् । सुक्खाग्रस्त क्षेत्रमा मात्र उत्पादन हुने बदामलाई ब्रान्डिङ गरी बजारीकरण गर्ने लक्ष्यसहित नगरपालिकाले प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको मेयर विमला राईले बताउनुभयो । नगरपालिकाका किसानले उत्पादन गरेको बदाम हलेसी बजार, दिक्तेल, विभिन्न मेला तथा छिमेकी जिल्ला ओखलढुङ्गासम्म बिक्री हुँदै आएको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपास उत्पादन भएको बदाम कोसेलीका रूपमा समेत प्रयोग हुने गरेको छ । स्थानीय कृषि उपजको प्रवद्र्धन र बजारीकरणका लागि हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र पनि सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।










Discussion about this post