पौष १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–६, थातिङमा सञ्चालनमा आएको ‘निनो होस्टेल’ निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पालाई सम्मान गरिएको छ । शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले सम्मानपत्र प्रदान गर्दै शेर्पालाई सम्मान गर्नुभएको हो । अनाथ तथा आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षामा योगदान पुर्याएको भन्दै शेर्पालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
निनो होस्टेलमा अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका ३० जना बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ । शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाका अनुसार होस्टेल सोलुदुधकुण्ड नगरपालिका र शेर्पा बालबालिका सहायता संघको लागत साझेदारीमा निर्माण गरिएको हो । यस होस्टेलमार्फत सोलुखुम्बु जिल्लाका आठैवटा पालिकाबाट सल्लेरीमा अध्ययन गर्न आउने अभिभावकविहीन तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई लक्षित गरिएको छ ।
दुर्गम बस्तीका बालबालिकाले अध्ययनका लागि केन्द्रमा आउँदा सुरक्षित र उपयुक्त बसोबासको अभावमा विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै होस्टेल निर्माणको अवधारणा ल्याइएको अध्यक्ष शेर्पाले बताउनुभयो । होस्टेल सञ्चालनमा आएपछि लक्षित बालबालिकाको शिक्षा, आवास तथा सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।











Discussion about this post