पौष १०, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले फागुन २१ गते हुने संघीय संसदको निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला संयोजक नाम्गेल शेर्पाको संयोजकत्वमा बुधबार बसेको बैठकले विभिन्न तहका लागि उम्मेदवारहरूको नाम सहमतिका साथ टुंगो लगाएको हो। बैठकको निर्णयबारे जिल्ला सदस्य भोजराज कार्कीले जानकारी दिनुभएको छ।
निर्णयअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ हेमकुमार राई ‘शूरवीर’, असिम राई, शिवबहादुर बस्नेत ‘राजेन्द्र’, आङ्गदावा शेर्पा र अम्बिरकाजी कुलुङको नाम सिफारिस गरिएको छ। त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ गोपाल किराँती, पासाङ शेर्पा ‘कर्मा’, निमातेण्डुप शेर्पा, घनश्याम नेपाली र केशब खड्का ‘श्याम’ सिफारिसमा परेका छन्।
महिला तर्फ करुणा ढुङ्गेल, ङिमाडिकी शेर्पा र अमृता कुलुङ राईको नाम सिफारिस गरिएको छ। यस्तै, राष्ट्रिय सभा सदस्यका लागि दिलबहादुर नेपाली ‘घनश्याम’को नाम सिफारिस गर्ने निर्णय बैठकले गरेको छ। पार्टीले जिल्लामा संगठन सुदृढीकरण र निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्ने उद्देश्यसहित उम्मेदवार चयन गरिएको जनाएको छ।











Discussion about this post