पौष १०, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बुधबार भएको छलफलपछि उक्त निर्णय गरिएको हो । बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन कार्यविधि–२०८२ निर्माणका लागि आयोजित छलफलमा बाँदर नियन्त्रणसम्बन्धी कार्ययोजना र आवश्यक तयारीबारे चर्चा गरिएको थियो ।
सोही छलफलबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई बाँदर बन्ध्याकरण कार्यक्रमका लागि छनोट गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगर प्रमुख भट्टराईका अनुसार बाँदर बन्ध्याकरणका लागि आवश्यक दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन भारत सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
कार्यक्रम सञ्चालनका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । उक्त बजेटमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ करोड २ लाख रुपैयाँ विनियोजन गरिसकेको र बाँकी आवश्यक बजेटसमेत मन्त्रालयले नै व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख भट्टराईले बताउनुभयो ।











Discussion about this post