अशोक साम्पाङ, खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–दिखुवा खोला हुँदै सन्सारी भुल्भूलेसम्मको सडक मर्मतसम्भार (टालटुल) कार्यमा गम्भीर लापरबाही भएको खुलेको छ । पिके निर्माण सेवा कटारीले बिना भ्याट ५१ लाख ५८ हजार रुपैयाँको बजेटमा गरेको सडक मर्मत कार्य सम्झौताअनुसार नभई हतार–हतार र चिसो मौसममै गरिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । २०८२ असोज २९ गतेको ठेक्का सम्झौताअनुसार तीन महिनाभित्र सम्पन्न हुनुपर्ने काम मंसिर १५ गतेदेखि पुस २५ गतेभित्र सक्ने गरी तीव्रता दिइएको थियो । तर काम सुरु भएदेखि नै निर्माण सामग्रीको गुणस्तर, तापक्रमको मापदण्ड र रोलिङ प्रक्रियामा प्रश्न उठ्दै आएको छ । मापदण्डअनुसार प्रीमिक्स पिच गर्दा कम्तीमा १८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने भए पनि बिहान र बेलुकाको समयमा तापक्रम शून्य डिग्री नजिक झर्ने अवस्थामै पिच गरिएको स्थानीयको आरोप छ । चिसो मौसममा गरिएको पिच टिकाउ नहुने भन्दै सर्वसाधारण चिन्तित छन् ।
यस्तै, सम्झौताअनुसार २६ एमएमको तह राखी राम्रोसँग रोलिङ गर्नुपर्नेमा काम अपूरो र कमजोर देखिएको स्थानीयको भनाइ छ । रोलिङपछि २० एमएम हुनुपर्ने मापदण्डसमेत पूरा नभएको दाबी गरिएको छ । कतिपय स्थानमा सडक सतह चाँडै फुट्ने संकेत देखिन थालेको र काम सम्पन्न भएका ठाउँमा हातले कोट्याउँदा नै पिच उखेलिने अवस्था देखिएको भन्दै स्थानीयले आवाज उठाएका छन् ।

यस विषयमा निर्माण कम्पनी पिके निर्माण सेवा कटारीका सञ्चालक केदार कोइरालाले सम्बन्धित कार्यालयको निगरानीमै काम भएको र सडक मर्मत सम्झौताअनुसार नै गरिएको दाबी गरेका छन् । यता सडक डिभिजन कार्यालय हर्कपुरका सब–इन्जिनियर तर्जुमा आचार्यले काममा कुनै कमजोरी नभएको, गुणस्तर र परिमाण दुवै सम्झौताअनुसार नै रहेको तथा कार्यालयले नियमित निगरानी गरिरहेको बताएका छन् । तर स्थानीयवासी भने कागजमा मात्र निगरानी देखाएर वास्तविक अवस्थालाई बेवास्ता गरिएको आरोप लगाउँछन् । चिसो मौसममा गरिएको पिच कति दिन टिक्छ भन्ने कुरा समयमै देखिने उनीहरूको भनाइ छ । जनगुनासो बढ्दै जाँदा पनि सम्बन्धित निकाय मौन देखिनुले करिब ६० लाख रुपैयाँको सडक मर्मत वास्तवमै जनताको हितका लागि हो कि केवल औपचारिकता पूरा गर्न मात्र गरिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ ।













Discussion about this post