अशोक साम्पाङ, खोटाङ । खोटाङले पाएको नयाँ प्रशासनिक नेतृत्व ऐतिहासिक बनेको छ । सहसचिव रेखा कँडेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रूपमा जिम्मेवारी सम्हाल्न आएसँगै खोटाङमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै पदमा महिला नेतृत्व स्थापित भएको हो । हाल खोटाङमा सहायक प्रजिअका रूपमा उपसचिव कोपिला राई २०८२ मंसिर १७ गतेदेखि कार्यरत रहनुभएको छ ।

यसअघि प्रजिअ रहेकी कल्पना श्रेष्ठले २०८२ साउन ७ गते हाजिर भई काम सुरु गर्नुभएको थियो । तर करिब पाँच महिनामै उनलाई २०८२ पुष ८ गतेदेखि उद्योग मन्त्रालयमा सरुवा गरिएको हो । छोटो कार्यकालमै भएको यो सरुवाले जिल्लाको प्रशासनिक स्थायित्वमाथि प्रश्न उठाएको छ । पाँच महिनामै प्रमुख जिल्ला अधिकारी फेरिएपछि नयाँ प्रजिअ रेखा कडेलमाथि चुनौतीसँगै जिम्मेवारी पनि बढेको छ । प्रशासनिक दायित्वका साथै जनअपेक्षा उच्च रहेकाले प्रभावकारी कार्यसम्पादन आवश्यक देखिएको छ । स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय गर्दै खोटाङको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी र मजबुत बनाउने प्रतिबद्धता नयाँ प्रजिअ कँडेलले व्यक्त गर्नुभएको छ ।












Discussion about this post