पौष १४, सोलुखुम्बु । सोताङ पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र सल्लेरी बहुमुखी क्याम्पस तोकिएको विषयमा आपत्ति जनाएको छ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले सोमबार परीक्षा नियन्त्रक डा. लक्ष्मण पौडेल र डेपुटी परीक्षा नियन्त्रक सूर्यकान्त कलौनी सँग भेट गरी माग निवेदन समेत पेश गर्नुभएको छ ।
भेटका क्रममा परीक्षा नियन्त्रक तथा डेपुटी नियन्त्रकले परीक्षा केन्द्र तोक्दा गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा सञ्चालन हुने सम्पूर्ण परीक्षाहरूको केन्द्र सोताङ पब्लिक क्याम्पस नै कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अनुसार आवश्यक निवेदन समेत पेश भइसकेको जनाइएको छ । तर, यही पौष १७ गतेदेखि सञ्चालन हुने शिक्षाशास्त्र संकाय स्नातक तह नियमित दोस्रो वर्षको परीक्षाका प्रश्नपत्रहरू पहिले नै सल्लेरी बहुमुखी क्याम्पस पठाइसकिएकाले उक्त मितिबाट हुने परीक्षा भने सल्लेरी स्थित बहुमुखी क्याम्पसमा नै सञ्चालन हुने बताइएको छ ।
त्यसपछिका सबै परीक्षाहरू भने सोताङ पब्लिक क्याम्पसमा नै सञ्चालन हुनेछन्। सोताङ गाउँपालिकामा अवस्थित सोताङ पब्लिक क्याम्पस कोशीपारि क्षेत्रका सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका तथा माप्य दुधकोशी गाउँपालिकाका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको एक महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा परिचित छ ।
यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले यसअघिसम्म यही क्याम्पसमै परीक्षा दिँदै आएका थिए । परीक्षा केन्द्र सदरमुकाम सल्लेरीमा तोकिँदा भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विद्यार्थीहरूलाई ठूलो भार पर्ने, कतिपय विद्यार्थी परीक्षा दिनै नसक्ने अवस्था आउने तथा भविष्यमा यस क्याम्पसमा भर्ना हुन इच्छुक विद्यार्थीहरू निरुत्साहित हुने भन्दै स्थानीय जनप्रतिनिधि र क्याम्पस प्रशासनले विगतको अभ्यासअनुसार परीक्षा केन्द्र सोताङ पब्लिक क्याम्पसमै कायम गर्न आग्रह गर्दै आएका थिए ।











Discussion about this post