पौष १४, सोलुखुम्बु । खोटाङ जिल्लाले नयाँ प्रशासनिक नेतृत्वसँगै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सहसचिव रेखा कडेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा जिम्मेवारी सम्हाल्न आएपछि जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै पदमा महिला नेतृत्व स्थापित भएको हो । हाल खोटाङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव कोपिला राई २०८२ मंसिर १७ गतेदेखि कार्यरत रहनुभएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारी रहेकी कल्पना श्रेष्ठले २०८२ साउन ७ गते हाजिर भई काम सुरु गर्नुभएको थियो। तर करिब पाँच महिनाको कार्यकालपछि उहाँलाई २०८२ पुष ८ गतेदेखि उद्योग मन्त्रालयमा सरुवा गरिएको थियो । छोटो अवधिमै प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि जिल्लाको प्रशासनिक स्थायित्वमाथि प्रश्न उठेको छ । पाँच महिनामै प्रजिअ फेरिनुले प्रशासनिक निरन्तरतामा असर पर्ने चिन्ता व्यक्त भइरहेका बेला नयाँ प्रजिअ रेखा कडेलमाथि चुनौतीसँगै जिम्मेवारी पनि थपिएको छ ।
प्रशासनिक दायित्वका साथै जनअपेक्षा उच्च रहेकाले प्रभावकारी कार्यसम्पादन आवश्यक देखिएको छ। यस सन्दर्भमा नयाँ प्रजिअ कडेलले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गर्दै खोटाङको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा एकैसाथ दुई महिला उच्च प्रशासनिक पदमा रहनु महिला नेतृत्व सशक्तीकरणको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।











Discussion about this post