पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो भेगमा पछिल्लो समय भालुको बिगबिगी बढ्दै गएको छ । वन क्षेत्र नजिकका बस्तीहरूमा भालु देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । सोमबार मात्रै महाकुलुङ गाउँपालिका–छेस्काम क्षेत्रमा देखिएको एक कालो हिमाली भालुलाई सुरक्षाकर्मी लागयत सम्बन्धित निकायको सहयोगमा नियन्त्रणमा लिइएको छ । भालु नियन्त्रणमा लिएपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।
स्थानीयका अनुसार पछिल्ला दिनहरूमा भालु बारम्बार मानव बस्ती नजिक देखिन थालेको छ, जसले दैनिक जनजीवन र पशुपालनमा जोखिम बढाएको छ । विशेषगरी वन क्षेत्रसँग जोडिएका बस्तीहरू बढी प्रभावित भएका छन् । भालुको आवतजावत बढी भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीयलाई सम्बन्धित निकायहरुले आग्रह गरेका छन् ।
एक्लै जंगलतर्फ नजान, रातिको समयमा घरबाहिर ननिस्कन तथा पशुधनलाई सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ । प्रचलित निर्देशिकाअनुसार जंगली जनावरले घरगोठ, पशुधन तथा अन्नबालीमा क्षति पु¥याएको खण्डमा पीडितलाई राहत रकम उपलब्ध गराउने व्यवस्था रहेको छ। क्षतिको प्रकृति र आवश्यक सिफारिसको आधारमा अधिकतम १० हजार रुपैयाँसम्म राहत रकम उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ ।










Discussion about this post