पौष १५, सोलुखुम्बु । सोलुखुम्बुबाट गत चालु आर्थिक वर्ष २०८१/८२ मा १२ हजार केजीभन्दा बढी चिराइतो निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार गत चालु आर्थिक वर्षमा कुल १२ हजार ३ सय ७३ केजी चिराइतो बाहिर निकासी गरिएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम ठाकुरका अनुसार निकासी गरिएको चिराइतोबाट २२ हजार ७ सय १९ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको छ । यसैगरी, चालु आर्थिक वर्षमा संकलन गरिएको चिराइतो भने केही समयपछि मात्र निकासी गरिने कार्यालयले जनाएको छ । चिराइतो खेती विशेषगरी जिल्लाका टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङ्ला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङ लगायतका क्षेत्रमा हुने गरेको छ ।
जिल्लामा उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा झापा, विराटनगर, काठमाण्डौ लगायतका जिल्लामा खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट राम्रै आम्दानी हुने भए पछि पछिल्लो समय यसतर्फ किसानहरु आकर्षित भएका छन् । जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आकर्षित भएका बताइएको छ । औषधी गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरुमध्ये महत्त्वपूर्ण मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसको प्रयोग गर्ने गरिएको छ । एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।










Discussion about this post