पौष १८, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुबाट विवेक बाबु लामिछानेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै राजनीतिमा प्रवेश गर्नुको कारण जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राख्नु रहेको बताउनुभएको छ । लामिछानेका अनुसार परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक समस्या समाधान गर्न नसकेको अनुभूति बढ्दै गएको छ ।
यही परिस्थितिलाई मध्यनजर गर्दै बौद्धिक, इमानदार र युवा नेतृत्वको खाँचो महसुस भएको भन्दै आफूले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले राजनीतिलाई सेवाको माध्यमका रूपमा विकास गर्न चाहेको र सोलुखुम्बुको समग्र विकासका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिने लामिछानेको घोषणाले सोलुखुम्बु जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ ।










Discussion about this post