पौष १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा स्थित सेकारसिं आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । शुक्रबार वडा कार्यालयको समन्वयमा सिटी भिलेज फाउण्डेशन नेपालले विद्यालयका ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी र सरसफाइ सामग्री वितरण गरियो, जस्मध्ये ४८ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेको हो ।
सामग्री वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सहयोग उपलब्ध गराएकोमा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै विद्यार्थीको सिकाइमा अभिभावकसमेत जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शैक्षिक विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । वडा सदस्य भलाकाजी कार्कीले विभिन्न संस्थाबाट प्राप्त सहयोगको सही सदुपयोग हुन नसकेको गुनासो गर्दै यस्ता सहयोगलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले अभिभावकहरूलाई यस्ता कार्यक्रमका बेला मात्र नभई नियमित रूपमा विद्यालयमा उपस्थित भई आफ्ना बालबालिकाको पठनपाठनबारे चासो दिन आग्रह गर्नुभयो । सिटी भिलेज फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मण कार्कीले विगतका वर्षहरूदेखि नै विद्यार्थीलाई केन्द्रमा राखी विभिन्न विद्यालयमा सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोङ्बा शेर्पाले विद्यालयका विद्यार्थीलाई थप सशक्त बनाउन समिति निरन्तर सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टुक्ति शेर्पा, सेकारसिं आविका प्रधानाध्यापक कमलप्रसाद कार्की, विव्यस सदस्य बुद्धि विक, शिक्षा शाखा अधिकृत रोजिना पौडेल, रिड नेपालका प्रशिक्षक बासुदेव काफ्ले लगायतको उपस्थिति रहेको थियो । सिटी भिलेज फाउण्डेशन नेपालले करिब ९ वर्षअघि नाजिङ हेल्थ क्लिनिकबाट सहयोग सुरु गरेको हो ।
फाउण्डेशनले यसअघि शिशाखोला आवि, नवबुद्ध आवि, भित्ता खर्क दोर्पु आवि तथा सरस्वती आविलाई पनि सहयोग गरिसकेको जनाएको छ । यसैबीच, फाउण्डेशनले बिहीबार मिलीजुली अपाङ्ग समूहलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेको जानकारी दिएको छ ।












Discussion about this post