पौष २२, सोलुखुम्बु । निर्वाचन आयोगले सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश चन्द्रकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले पोखरेललाई उक्त जिम्मेवारी दिएको हो ।
यसैगरी, खोटाङ जिल्लामा फणिन्द्रप्रसाद पराजुली र ओखलढुंगा जिल्लामा हरिप्रसाद कोइरालालाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा देशभरका ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जनाएको छ ।
साथै, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । नियुक्ति पाएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जानकारी दिएको छ ।











Discussion about this post