पौष २२, सोलुखुम्बु । लिखु पिके गाउँपालिकाको सर्वाङ्गिन विकास र सुशासनको माग गर्दै लिखुपिके जेनजेड समूहले पटक–पटक गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । समूहले करिब दुई महिना अगाडि नै बुँदागत रूपमा आफ्ना माग प्रस्तुत गर्दै खुला (लाइभ) छलफलको माग गरेको भए पनि गाउँपालिका नेतृत्वले ती विषयलाई प्राथमिकतामा नराखी आलटाल गरिएको जेनजेड समूहको आरोप छ ।
जेनजेड समूहका अनुसार गाउँपालिकाले छलफलको विषयमा मौन रहँदै १५ दिनपछि छलफल गरिने भन्दै औपचारिक पत्रमार्फत समय टार्ने काम गरेको छ, जसले हेपाहा प्रवृत्ति देखिएको महसुस भएको उनीहरूको भनाइ छ । जनचासोका विषयमा वर्तमान नेतृत्वले चरम उदासीनता, अपारदर्शिता र बढ्दो बेथिति देखाएको भन्दै अब शान्त बस्न नसक्ने अवस्था आएको जेनजेड समूहले जनाएको छ । समूहले पुनः ६ दिनको समयसीमा दिँदै पुस २८ गतेसम्म गाउँपालिकाले छलफल कार्यक्रमका लागि वातावरण नबनाए पुस २९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
आन्दोलनका क्रममा एम्बुलेन्स बाहेक गाउँपालिकाको स्वामित्वमा रहेका अन्य सबै सरकारी साधन प्रयोग नगर्ने र गाउँपालिकाको प्रशासनिक क्रियाकलाप बन्द गरिने चेतावनी पनि दिइएको छ । जेनजेड लिखुपिकेका संयोजक ईश्वर श्रेष्ठका अनुसार, आन्दोलनका क्रममा नगर्नु भनिएका क्रियाकलापहरू प्रशासनिक शक्तिको दुरुपयोग गर्दै जबरजस्ती अघि बढाउन खोजिएमा त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले नै लिनुपर्नेछ ।
जेनजेड समूहले गाउँपालिकाद्वारा छनोट गरिएका सार्वजनिक योजनाहरू र विनियोजन गरिएको बजेट सिलिङको प्रतिलिपि, वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक खर्च तथा सेवा–सुविधाको विवरण, उपाध्यक्षले उपभोग गरेका सेवा–सुविधा, सवारी साधनको प्रयोग, लिखु हाइड्रोपावरले गाउँपालिकामा बुझाएको प्रतिवेदन, कार्यपालिका बैठकका निर्णय, वडा कार्यालयका गतिविधि, योजना कार्यान्वयनको अवस्था, केन्द्रीय प्रशारण लाइन जडान लगायतका विभिन्न विषयमा स्पष्ट जानकारी माग गर्दै आएको छ ।











Discussion about this post