पौष २३, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले न्यनतम सेवा मापदण्डमा अहिले सम्मकै उच्च अङ्क ल्याएको छ । अस्पतालको व्यवस्थापन, सरसफाइ, सेवा प्रवाह लगायतका मुल्याङ्कन गरि स्वास्थ्य मन्त्रालयले दिने अङ्कमा यस वर्ष अस्पतालले हाल सम्मकै सबैभन्दा बढी अङ्क ल्याएको हो । न्यूनतम सेवा मापदण्डको लेखाजोखा गर्न आएका कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका टोलीले अस्पताललाई १ सय अङ्कमा ८७ अङ्क दिएका हुन । २ दिन सम्म चलेको लेखाजोखा पछि अस्पताल व्यस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको सभापतित्वमा आज सम्पन्न एक कार्यक्रमका बीच अस्पताललाई लेखाजोखा अङ्क र सुधार गर्नुपर्ने विषयमा निर्देशनालयको टोलीले सचेत गराएको छ ।
अस्पतालले दिने सेवालाई गुणस्तरीय बनाउने उद्देश्य सहित हुने गरेको न्यूनतम सेवा मापदण्डको लेखाजोखा प्रकृया हरेक वर्षमा २ पटक हुने गरेको छ । यस वर्षको पहिलो लेखाजोखामा अस्पतालले इतिहासमै सबैभन्दा धेरै अङ्क प्राप्त गरेको हो । यद्यपि निर्देशनालयले केही कमजोरीहरू सुधार गर्नुपर्ने सुझाव पनि दिएको छ । अस्पतालमा कर्मचारी दरबन्दी कम भएको उल्लेख गर्दै क्षमता अनुसारको कर्मचारी दरबन्दी आवश्यक रहेको निक्र्यौल गरिएको छ । यस्तै अस्पताल वरिपरि रहेका पुराना संरचनालाई रेट्रोफिटिङ गरि बिरामी कुरुवा घर बनाउन सकिने लगायत विभिन्न सुझावहरू निर्देशनालयले व्यक्त गरेको छ ।
कार्यक्रममा अस्पतालले सेवा प्रवाहमा गरेका नवीनतम कामहरू, सेवा प्रवाहका तौर तरिका लगायत विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश मण्डले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिसस प्रमुख निरौलाले अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाउँन के कस्तो कामहरू गर्नुपर्ने हो वा नीतिगत निर्णय गर्नुपर्ने हो त्यसका लागी आफू तयार रहेको उल्लेख गर्नुभएको थियो । उहाँले १५ शैयाको अस्पतालले ५४ शैयाको सेवा दिइरहेको सन्दर्भमा भएका कमजोरीलाई सुधार्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सँग ५४ शैया क्षमताको अस्पताल माग गर्ने समेत उल्लेख गर्नुभएको थियो । आफूहरूको मागलाई मन्त्रालयले अनदेखा गरे जुनसुकै कदम चाल्न पनि बाध्य हने चेतावनी उहाँको थियो ।











Discussion about this post