पौष २४, सोेलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट रोहित पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । माप्य दूधकोशी गाउँपालिका–५ निवासी पुडासैनीले बिहिबार आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्दै पुडासैनीले सोलुखुम्बु जिल्लामा व्याप्त भ्रष्टाचारको अन्त्य गर्नु आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गर्नुभयो। त्यसैगरी पर्यटन क्षेत्रलाई सहज र कार्यान्वयनयोग्य बनाउने, जिल्लाका सबै पर्यटन गन्तव्यहरूमा टेलिफोन तथा सञ्चार सुविधाको पहुँच विस्तार गर्ने उहाँको लक्ष्य रहेको छ।
जिल्लामा उत्पादन हुने कृषि उपजको प्रवद्र्धन तथा बजारिकरणमा जोड दिँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउने एजेन्डा पनि उहाँले अघि सार्नुभएको छ । यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी सोलुखुम्बु जिल्लालाई नमूना जिल्ला बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ। स्थानीय आवश्यकताहरू र जनताको प्रत्यक्ष सरोकारलाई केन्द्रमा राखेर राजनीति गर्न चाहेको बताउँदै पुडासैनीले विकास र सुशासनका लागि स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।











Discussion about this post