पौष २५, सोलुखुम्बु। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ मा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा तथा माप्य दुधकोशी गाउँपालिकाको संयोजन र वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त तालिम शुक्रबार औपचारिक रूपमा समापन गरिएको हो।
समापन कार्यक्रम गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का अध्यक्ष भक्तबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा १६ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सहभागीहरूलाई तालिममा प्राप्त गरेको सिपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो।
उहाँले यस्ता सिपमूलक तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष गौरव राईले तालिम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा पुनः ताजगी (रिफ्रेसर) तालिम सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालयसँग निरन्तर समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय युवाहरूलाई प्राविधिक सिपमार्फत सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले सहभागीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।










Discussion about this post