पौष २६, सोलुखुम्बु । आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सोलुखुम्बुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी तर्फ ८५१ जना र शसस्त्र प्रहरी बल तर्फ ४६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचालन सम्बन्धी एकीकृत कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले यस जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरी छनोट गर्नका लागि प्राथमिकताका आधारहरु राखिएको छ । नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएका हुनुपर्नेछ । नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेशपत्र पेश गर्ने व्यक्ति, यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक हुनुपर्ने बताइएको छ ।











Discussion about this post