पौष २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १२ बजे माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा नम्बर ७ वरोदी रोचमतर्फ जाँदै गरेको बि.ए.डी. ७७४२ नम्बरको डबल क्याप बोलेरो गाडी सडकबाट करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र एक यात्रुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेमा बोलेरो चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई र यात्रु २८ वर्षीया कुशुम राई रहेका छन् । मृतक दुवैको पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका २७ वर्षीय बलराम राई र ३० वर्षीय देबेन्द्र राईको टाउकोमा गम्भीर चोट लागेको र ३१ वर्षीय सुरेश राईको समेत अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।
अन्य घाइते १९ वर्षीय मनोज राई र १७ वर्षीय सदिप राईलाई जिल्ला अस्पताल फाप्लु पठाइएको छ । यस्तै, २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राईको अवस्था सामान्य रहेकाले स्वास्थ्य चौकी वाकुमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।










Discussion about this post