अशोक साम्पाङ, खोटाङ । नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ वार्षिक साधारण सभा पुष २८ गते सोमबार एक होटलमा सम्पन्न भएको छ । खोटाङ जिल्लाभित्र गाउँपालिका वा नगरपालिकाले निर्माण सम्बन्धी नयाँ फर्मलाई इजाजत पत्र वितरण गर्दा नेपाल निर्माण व्यवसायी संघ, खोटाङको आधिकारिक प्रतिनिधि अनिवार्य रहने निर्णय गरिएको संघका महासचिव दिलचक्र राईले बताउनुभयो ।
साथै, प्रत्येक आर्थिक वर्षमा कम्पनीको इजाजत पत्र नवीकरण गर्दा पनि संघको आधिकारिक सिफारिस आवश्यक पर्नेछ । त्यसैगरी, संघ वा महासंघको विधान र निर्णय विपरीत काम गरेमा नियमअनुसार कारबाही गरिने निर्णय पनि सभाले गरेको छ । यी निर्णय कार्यान्वयनका लागि जिल्लाका सबै पालिका र नगरपालिकासँग समन्वय गर्न आग्रह गरिनेछ । सभाले दुई करोड रुपैयाँसम्मका निर्माण कार्यमा सम्बन्धित जिल्लाका व्यवसायीलाई मात्र प्रतिस्पर्धामा सहभागी गराउने निर्णय गरेको छ । साथै, पाँच करोड रुपैयाँसम्मका निर्माण कार्यमा प्रदेशभित्रका व्यवसायी र पाँच करोडभन्दा माथिका ठेक्कामा खुला प्रतिस्पर्धा गर्ने निर्णय गरिएको छ । बिड डकुमेन्ट खरिद गर्दा राजस्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्नुपर्ने, ठेक्का नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने र सर्भर समस्याका कारण बिड समय फरक–फरक राख्न नेपाल सरकारसँग पहल गर्ने निर्णयसमेत गरिएको छ ।

सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले निर्माण व्यवसायीहरूलाई “देशका जेठा छोरा” को संज्ञा दिँदै आफ्नो जिम्मेवारी इमान्दारी र सफलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

संघका अध्यक्ष तथा सभाका सभाध्यक्ष रमेश पौडेल (दिनेश) ले अरुले काम पायो, मैले पनि पाउनुपर्छ भन्ने सोचका कारण गरिने लो बिडिङले कामको गुणस्तरमा कमी आउन थालेको र यसले समग्र निर्माण व्यवसायीको छविमा नकारात्मक असर परिरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीका सकारात्मक पक्षहरूलाई अझ मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।












Discussion about this post