माघ १, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज ११ औँ राष्ट्रिय योग दिवस मनाइँएको छ । बिहिबार जिल्ला आयुर्वेद कार्यालय केन्द्र सोलुखुम्बुको आयोजनामा दोर्पूमाउक्त दिवस मनाइएको हो । दिवसको अवसरमा योग अभ्यास, योगको महत्वबारे चर्चा गरिएको थियो । यस्तै विभिन्न रोगहरुबाट बच्नका लागि घरायसि जडिबुटिको बारेमा पनि प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा शरीरलाई स्वस्थ राख्नका साथै मानसिक स्वास्थका लागि पनि योग अत्यन्त आवश्यक भएको जिल्ला आयुर्वेद कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख अमिन्द्र कुमार पण्डितले बताउनुभयो । यस्तै परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइए पनि समयक्रमसँगै यसलाई वैज्ञानिक अभ्यासका रूपमा स्वीकार गर्न थालिएको जिल्ला आयुर्वेद कार्यालय सोलुखुम्बुका सुचना अधिकारी केशव ढुंगनाले बताउनुभयो । यस्तै दैनिक रुपमा योग गर्नाले शरिर स्वस्थ्य हुनुका साथै सधै सकरात्मक उर्जाको अनुभुति हुने उप–प्रमुख गान्धिमाया तामाङले बताउनुभयो ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । नियमित योगा अभ्यासले तनाव कम गर्न, बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घरोगबाट बच्न सहयोग पुर्याउँने साथै, योगले शरीरमा ऊर्जाको सञ्चार गराउने, स्फूर्ति बढाउने र जीवनशैलीलाई स्वस्थ बनाउने विश्वास लिइन्छ ।
योगको धेरै फाइदा रहेकाले पछिल्लो समय योग कक्षा तथा अभ्यास कार्यक्रमहरू पनि प्रथामिकतामा राखिएको कार्यालयले जनाएको छ । योगलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन सके स्वस्थ समाज निर्माणमा महत्वपुर्ण योगदान पुग्ने कार्यालयको विश्वास रहेको छ । उक्त कार्यक्रममा विभिन्न कार्यलयका प्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियबासिहरुको उपस्थिती रहेको थियो ।










Discussion about this post