माघ २, सोलुखुम्बु । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–स्थित लुक्लाबाट मेरा पिक जाने पदमार्गमा पर्ने देउराली खोलामा फलामे पुल निर्माण गरिएको छ । मेरा पिक जाने पर्यटक तथा स्थानीय बासिन्दालाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले पुल निर्माण गरिएको हो । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा खोला तर्न कठिनाइ भोग्दै आएका पर्यटक र स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । यसअघि गत वर्ष गाउँपालिकाको पहलमा मेरा पिक जाने अर्को मुख्य मार्ग अन्तर्गत चिसिबुक खोलामा ट्रस ब्रिज निर्माण गरिएको थियो । देउराली खोलामा निर्माण भएको यो पुल चिसिबुक खोलापछिको माथिल्लो भागमा पर्ने महत्वपूर्ण संरचना हो ।
पर्यटन प्रवद्र्धनसँगै स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले पदमार्ग सुधार तथा पुल निर्माणलाई निरन्तरता दिँदै आएको छ । नयाँ फलामे पुल सञ्चालनमा आएपछि मेरा पिक जाने पर्यटकको संख्या बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।










Discussion about this post