माघ २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुमा बालबालिकाका लागि उद्घोषण तालिम सुरु गरिएको छ। वडा कार्यालयको आयोजनामा शुक्रबार देखि उक्त कार्यक्रम सुरु गरिएको हो । “बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार” भन्ने नारासहित सुरु गरिएको तालिमको उद्देश्य बालबालिकाको आत्मविश्वास अभिवृद्धि, प्रभावकारी बोल्ने कला विकास तथा नेतृत्व क्षमता सुदृढ गर्नु रहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो।
तालिममा करिब १६ जना बालबालिकाको सहभागिता रहेको छ। सहभागी बालबालिकालाई सार्वजनिक रूपमा बोल्ने सीप, प्रस्तुतीकरण कला र आत्मअभिव्यक्तिमा सक्षम बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। माघ ६ गतेसम्म सञ्चालन हुने यस तालिमले बालबालिकालाई व्यवहारिक, उपयोगी र प्रेरणादायी अनुभव प्रदान गर्ने विश्वास लिइएको छ। स्थानीय तहको सक्रियतामा सुरु गरिएको यस कार्यक्रमले बालमैत्री वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post