माघ ३, सोलुखुम्बु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति सोलुखुम्बुले आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी तेन्जिङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले वर्तमान सरकार र संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आम जनतालाई आह्वान गरेको हो।
सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्जले भदौ २३ र २४ गते ‘जेन–जी’ पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध तथा ‘नेपो किड्स’ को विषयलाई लिएर गरेको आन्दोलनपछि गठन भएको पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको सरकारलाई ‘कठपुतली सरकार’ को संज्ञा दिनुभयो।
विज्ञप्तिमा संसदीय व्यवस्थाको असफलताका कारण देश नयाँ राजनीतिक विकल्पको खोजीमा रहेको उल्लेख गर्दै विदेशी शक्तिहरूको इसारामा जबरजस्ती फागुन २१ गते निर्वाचन गराउन लागिएको आरोप पनि लगाइएको छ। यस्तो परिस्थितिमा हुने निर्वाचनले जनताको समस्या समाधान गर्न नसक्ने भन्दै पार्टीले उक्त निर्वाचनलाई बहिष्कार गर्न सबैमा आग्रह गरेको छ ।











Discussion about this post