माघ ३, सोलुखुम्बु । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते तोकिएसँगै सोलुखुम्बुमा राजनीतिक माहोल तातिँदै गएको छ । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा ‘विकास चाहियो कि नयाँ नेतृत्व ?’ भन्ने विषयमा नागरिकस्तरमा चर्को बहस सुरु भएको छ । एकातर्फ, केही नागरिकहरू अनुभवयुक्त र स्थापित नेतृत्व नै आवश्यक रहेको तर्क गर्छन् । उनीहरूका अनुसार केवल नयाँ पुस्ता हुनु मात्र पर्याप्त नभई देश र जिल्लाको जटिल राजनीतिक तथा विकासका चुनौती सम्हाल्न सक्ने क्षमता र अनुभव अनिवार्य छ ।
अर्काे पक्षले भने लामो समयदेखि अवसर पाएका पुराना नेताहरूको काम जनताले राम्ररी हेरिसकेको भन्दै अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने सुभन्द्रा राजभण्डारीले धारणा राख्नुभयो । पुराना सोच र शैलीबाट विकास सम्भव नभएकाले अब नयाँ ऊर्जा, नयाँ सोच र प्रविधिसँग अभ्यस्त पुस्ताले देश चलाउन सक्नु पर्ने निमा दोर्जी शेर्पाको भनाई छ । सोलुखुम्बुमा पछिल्लो समय विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन् ।
यिनै मुद्दालाई कसले प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ भन्ने आधारमा मतदाताले निर्णय गर्ने संकेत देखिएको छ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू पनि आफ्नो पक्षमा जनमत बनाउन सक्रिय भएका छन् । अनुभवी नेतृत्व र नयाँ पुस्ताबीचको यो बहसले सोलुखुम्बुको चुनावी माहोललाई थप रोचक बनाएको छ । अन्ततः विकासको अनुभूति गराउने अनुभवी नेतृत्व रोज्ने कि परिवर्तनको अपेक्षामा नयाँ पुस्तालाई अवसर दिने भन्ने निर्णय मतदाताकै हातमा रहने देखिन्छ ।










Discussion about this post