माघ ४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–३ खास्तापमा आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । आइतबार बिहान करिब ७ः३० बजे खास्ताप बस्ने नल बहादुर राईको बस्तु बाँध्ने गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । आगलागीबाट गोठमा बाँधिएको एक वटा पाँडो जलेर घाइते भएको छ भने गोठमा जडान गरिएको सोलार प्यानल थान–१, १२ भोल्टको ब्याट्री थान–१, नगद १२ हजार रुपैयाँ र विभिन्न भाँडाकुँडा जलेर नष्ट हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
उक्त घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post