माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ मा २१ दिने एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम सम्पन्न भएको छ । पौष १५ गतेदेखि सुरु भएको तालिम सोमबार औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा तथा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा १३ जना स्थानीय युवाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि राईले सिप विकास तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, यस्ता प्राविधिक सिपमूलक तालिमले युवाहरूलाई रोजगारीको खोजीमा बाहिर जानु नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले सिकेको सिपलाई व्यवहारमा उतार्न र स्वरोजगारतर्फ अघि बढ्न सहभागी युवाहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सज्जन राईले अध्यक्षता गर्दै सिप विकास तालिम वडाको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । युवाहरूलाई सिपयुक्त बनाउनु नै दीर्घकालीन विकासको आधार रहेको उहाँको भनाई छ । आगामी दिनमा पनि यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण खतिवडाले विशेष अतिथिको रूपमा मन्तव्य राख्दै तालिमले सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारी निकाय र स्थानीय तहको सहकार्यबाट अझ प्रभावकारी सिप विकास कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । तालिमको सहजीकरण प्रशिक्षक इन्द्रकुमार राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, व्यवहारिक तथा रोजगारीमुखी भएको प्रतिक्रिया दिएका छन् ।











Discussion about this post