माघ ८, सोलुखुम्बु । छेस्काम पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चले छेस्काम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान गरेको छ। छात्रवृत्ति अक्षयकोष व्यवस्थापन कार्यविधि २०७५ अनुसार विद्यालय व्यवस्थापन समिति (विव्यस), विद्यालय प्रशासन तथा सरोकार मञ्चको संयुक्त समन्वयमा विद्यार्थी छनोट गरी छात्रवृत्ति वितरण गरिएको हो । यस अन्तर्गत सर्वोत्कृष्ट छात्रवृत्ति, उत्कृष्ट छात्रवृत्ति तथा छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति गरी जम्मा १० जना विद्यार्थी लाभान्वित भएका छन् ।
छेस्काम पूर्व विद्यार्थी सर्वोकृष्ट छात्रवृत्तिमा योगेश कुलुङले २५०००, छेस्काम पूर्व विद्यार्थी उत्कृष्ट छात्रवृत्तिमा योगेश कुलुङले २०००० तथा छेस्काम पूर्व विद्यार्थी छात्रवृत्तिमा क्रमशः शुभास मण्डलले १६०००, मिलाश कुलुङले ८०००, राजु वि.क.ले ८०००, अस्मिता कुलुङले १८०००, अमर कुलुङले १८०००, रमिता कुलुङले ८०००, अरुना कुलुङले ८०००, सृजना कुलुङले १५००० र लगिता कुलुङले १५००० जम्मा १५९००० पाएका छन् । छात्रवृत्ति वितरण कार्यक्रम सरोकार मञ्चका अध्यक्ष दिपेश कुलुङको सभाध्यक्षता तथा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा सम्पन्न भएको थियो ।
महाकुलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गा बहादुर कुलुङ, एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा अक्षयकोष व्यवस्थापन संयोजक भलाकाजी कुलुङ, छेस्काम माध्यमिक विद्यालयका विव्यस अध्यक्ष बिध्याराज कुलुङ, प्रधानाध्यापक गुरु प्रसाद राई, अक्षयकोषदाता तथा स्थानीय बुद्धिजीवी टंकराम सोम्फोरु कुलुङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सरोकार मञ्चको कुल अक्षयकोष रकम हाल रु. १५,८२,०५९ रहेको छ । उक्त कोषबाट प्राप्त ब्याज रकममार्फत प्रत्येक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको मञ्चले जनाएको छ । यो छात्रवृत्ति कार्यक्रम २०७५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो । यसै अवसरमा अक्षयकोषदाता टंकराम सोम्फोरु कुलुङले रु. ५५,३८१ रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसअघि उहाँले रु. ५५,६२० रुपैयाँ जम्मा गरिसक्नुभएको हुँदा हालसम्म उहाँको नाममा जम्मा रकम रु. १,११,००१ पुगेको छ।
अक्षयकोष व्यवस्थापन समितिका अध्यक्ष भलाकाजी कुलुङका अनुसार आगामी दिनमा यस कोषलाई अझै विस्तार गरी ठूलो पूँजी बनाउँदै थप संख्यामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको छ । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरू खुशी भएका छन् र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । यस किसिमका पहलले ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक पहुँच र उत्साहमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।










Discussion about this post