माघ ९, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर शासनलाई जनतासम्म पुर्याउने उद्देश्यसहित वडामै कार्यपालिका बैठक गर्ने नयाँ अभ्यास सुरु गरेको छ । सोही क्रममा नगरपालिकाको कार्यपालिका बैठक बिहिबार वडा नम्बर १ बाहुनीडाँडामा सम्पन्न भएको हो । हरेक नियमित कार्यपालिका बैठक फरक–फरक वडामा गर्ने अघिल्लो कार्यपालिकाको निर्णयअनुसार बैठक संचालन गरिने नगरपालिकाले जनाएको छ ।
यस अभ्यासले वडास्तरका समस्या, सेवा प्रवाह र विकासका असल अभ्यासलाई प्रत्यक्ष अवलोकन तथा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । नगर प्रमुख बिमला राईले केही सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नगरका सबै ११ वटै वडामा नियमित रूपमा कार्यपालिका बैठक गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार वडामै बैठक गर्दा स्थानीय आवश्यकता बुझ्न, सेवाको प्रभावकारिता मूल्यांकन गर्न र जनप्रतिनिधिबीच अनुभव साटासाट गर्न सहज हुने बताउनुभयो । बिहीबार सम्पन्न बैठकमा वडा कार्यालयले प्रदान गर्दै आएको सेवा, गर्न बाँकी रहेका कार्य तथा चुनौतीबारे वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले आ–आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
यसै अवसरमा करिब ८२ रोपनी बाँझो जमिनलाई १५ वर्षका लागि कृषि समूहलाई लिजमा दिएर तरकारी तथा फलफूल खेती सुरु गरिएको वडा नम्बर १ को असल अभ्यासबारे सबै कार्यपालिका सदस्यलाई जानकारी गराइएको थियो । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै रोजगारी र उत्पादन बढाउने यो अभ्यासलाई नगरपालिकाले उदाहरणीय कदमका रूपमा लिएको छ । नगरपालिकाले जानकारी दिएअनुसार आगामी कार्यपालिका बैठक वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा हुने जनाइएको छ ।










Discussion about this post