माघ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लास्थित तिङ्ला स्वास्थ्य चौकीमा ल्याब तथा टेलिमेडिसन सेवा सुरु गरिएको छ । एक्सन फर नेपालको करिब ११ लाख रुपैयाँ आर्थिक सहयोग, सोलुदुधकुण्ड नगरपालिकाको कर्मचारी व्यवस्थापन तथा वडा कार्यालयको समन्वयमा उक्त सेवा सञ्चालनमा आएको हो ।
ल्याब र टेलिमेडिसन सेवा सुरु भएसँगै अब तिङ्लाबासीले सामान्य स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शका लागि सदरमुकाम सल्लेरी वा जिल्ला बाहिरका अस्पताल धाउनुपर्ने बाध्यता हटेको वडा अध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिनुभयो । नागरिकको सेवालाई मध्यनजर गर्दै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिने उहाँको भनाइ छ ।
स्वास्थ्य चौकी प्रमुख दिलेन्द्र प्रसाद जोशीका अनुसार नयाँ सेवा अन्तर्गत रक्त परीक्षण,दिसा–पिसाब परीक्षणलगायत आवश्यक प्रयोगशाला सेवाहरू प्रदान गरिनेछ । साथै टेलिमेडिसनमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले सुरु गरिएको यस सेवाले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।











Discussion about this post