माघ १०, सोलुखुम्बु । सोलुखुम्बुको दुर्गम हिमाली क्षेत्र खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा फेला परेको मानव कंकालको पहिचान भएको छ । पैदलयात्री हिँड्ने बाटो नजिक माघ ४ गते फेला परेको उक्त कंकाल थुलुङ दुधकोशी गाउँपालिका–९, लोखिम छिवा टोल निवासी दाखिमान तामाङका छोरा रत्न तामाङको भएको पुष्टि भएको हो ।
पोष्टमार्टम प्रक्रिया सम्पन्न भएपछि मृतकका भाइ सुदिप तामाङले कंकाल जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । कंकाल देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय नाम्चेलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी माघ ६ गते उक्त कंकाल जिल्ला अस्पताल फाप्लुस्थित शवगृहमा सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार माघ ७ गते अनुसन्धान र पहिचान प्रक्रिया पूरा भएपछि परिवारलाई जिम्मा लगाइएको छ ।
घटनाको कारण र मृतकको मृत्यु कहिले तथा कसरी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्गम भौगोलिक अवस्था र पुरानो अवस्थामा कंकाल फेला परेकाले अनुसन्धान चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ ।











Discussion about this post