माघ १० , सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर १ का युवाहरूलाई लक्षित गर्दै बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको १५ दिने उक्त तालिम शनिबारबाट औपचारिक रूपमा सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । वडा अध्यक्ष जंंगबहादुर गुरुङको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नारायण खतिवडाले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्न युवाहरूलाई आग्रह गर्नुभयो ।यस्तै वडा अध्यक्ष गुरुङले स्थानीय युवाहरूलाई सीप विकासमार्फत रोजगारीसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिममा वडा नम्बर १ का २० जना युवाहरूको सहभागिता रहेको छ । तालिमको सहजीकरण विर बहादुर माझीले गरिरहनुभएको छ । तालिमबाट युवाहरूले विद्युत् जडान, मर्मत तथा बिल्डिङ इलेक्ट्रीसियनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।










Discussion about this post