माघ १२, सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत सोलुखुम्बु जिल्लाका केही मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरका अनुसार जिल्लाका १२४ मतदानस्थलमध्ये १० मतदानस्थल अति संवेदनशील, ४१ मतदानस्थल संवेदनशील र बाँकी ७३ मतदानस्थल सामान्य श्रेणीमा राखिएको छ ।
अति संवेदनशील सूचीमा राखिएका मतदानस्थल सुरक्षा जोखिम र संवेदनशीलताको आधारमा ८ स्थानीय तहमा विभाजन गरिएको छ । जिल्लामा कुल १२४ मतदान स्थल र १३९ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनको समयमा स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरण सुनिश्चित गर्न जिल्ला प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल र निर्वाचन प्रहरी परिचालन हुने जानकारी दिइएको छ ।
सुरक्षा व्यवस्थाअन्तर्गत मतदान अवधि भरी मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरीले गर्ने, बाहिरी घेरा शसस्त्र प्रहरीले हेर्ने र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको छ । जिल्लामा ५ सयभन्दा बढी नेपाल प्रहरी, ८५१ जना निर्वाचन प्रहरी, नेपाल आर्मी र शसस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिने बताइएको छ । प्रहरीका अनुसार निर्वाचनको समयमा सुरक्षा व्यवस्थित गर्न सबै तयारी पुरा भइसकेको छ र मतदाता मतदानमा सहज र सुरक्षित वातावरणमा सहभागी हुन सक्नेछन् ।










Discussion about this post