जेठ २६, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले ५ वटा पालिकाको अधिवेशन सम्पन्न गरेको छ । हाल सम्म जिल्लका ४ गाउँपालिका र एक नगरपालिका सहित ५ वटा पालिकाको पालिका अधिवेशन सम्पन्न गरिसकेको हो । गत जेठ ५ गते सुरु भएको पालिका अधिवेशन शनिबार महाकुलुङमा गरेसँगै २६ गते सम्ममा ५ वटा पालिकामा सम्पन्न भएको नेकपा एमाले सोलुखुम्बुकी सचिव कल्पना राइले बताउनुभयो ।
एमालेले हाल सम्म थुलुङ दुधकोशी, नेचासल्यान, माप्य दुधकोशी, महाकुलुङ गउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा पालिका अधिवेशन सम्पन्न गरेको उहाँले बताउनुभयो । दोश्रो पालिका अधिवेशन गरिरहेको एमाले सोलुखुम्बुले हाल सम्म सबै पालिका समितिहरू सर्वसम्मत ढंगले चयन गरिरहेको उहाँको भनाई छ ।
जिल्लाको एक मात्र नगरपालिकामा २५ गते सम्पन्न अधिवेशनबाट दीपक राजभण्डारीको अध्यक्षतामा नगर समिति चयन भएको छ । यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा भुपाल सिं राई, माप्य दुधकोशी गाउँपालिकामा दिनेश कुमार राई र नेचासल्यान गाउँपालिकामा ओम प्रसाद बास्तोला र महाकुलुङमा अजय ठटालको अध्यक्षतामा पालिका समिति चयन भएको एमाले सोलुखुम्बुले जनाएको छ ।
जेठ मसान्त भित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने केन्द्रको सर्कुलर अनुसार अहिले धमाधम पालिका समिति चयन भइरहेको सचिव कल्पना राइले बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिकाको अधिवेशनको हाल सम्म अधिवेशन मिति तय भइनसकेको भएपनि २६ गते महाकुलुङ र ३० गते सोताङ गाउँपालिकाका पालिका अधिवेशन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
यस्तै ५२ वटा वडा रहेको सोलखुम्बुमा एमालेले वडा अधिवेशन पनि गरिरहेको छ । हाल सम्म नेचासल्यान गाउँपालिकाका ३ वटा वडामा अधिवेशन सम्पन्न गरि सकिएको र अन्य वडाहरूमा पनि अधिवेशन जारी रहेको जनाइएको छ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कार्य समितिको अधिवेशन गत चैत्र २३ र २४ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनमा डुफ कुमार बाँस्तोलाको अध्यक्षतामा जिल्ला समिति निर्वाचित भएको थियो ।
Discussion about this post