माघ १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ५७ जना निर्वाचन प्रहरी अपुग भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ८५१ जना निर्वाचन प्रहरीको माग गरे पनि हालसम्म ७९४ जना मात्रै उपलब्ध भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विकास राईका अनुसार पटक–पटक म्याद थप्दा पनि मागअनुसार दरखास्त नपरेको हो ।
सुरुमा पुस २५ देखि माघ १ गतेसम्म आवेदन माग गरिएकोमा पर्याप्त संख्या नआएपछि माघ ३ गतेसम्म म्याद थप गरिएको थियो । त्यसपछि पनि संख्या नपुग्दा माघ १० र ११ गते पुनः तेस्रो पटक सूचना प्रकाशन गरिएको थियो । तीन पटक सूचना जारी गर्दा पनि जम्मा ६९६ जनाले मात्र दरखास्त पेश गरेका थिए ।
हाल आवेदन दिने संख्या ७९४ पुगेको भए पनि अझै ५७ जना निर्वाचन प्रहरी अपुग रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आवेदन दिनेहरूमध्ये केही व्यक्ति परीक्षामा समेत अनुपस्थित भएका थिए । १८ देखि ५४ वर्ष उमेर हद कायम गर्दा पनि दरखास्त न्यून आएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
यसअघिका निर्वाचनहरूमा मागभन्दा बढी आवेदन आउने गरेकामा यसपटक मागअनुसार निर्वाचन प्रहरी नपाएकोप्रति उहाँले अचम्म व्यक्त गर्नुभयो । अपुग रहेका निर्वाचन प्रहरीको व्यवस्थापन अन्य जिल्लाबाट गरिने जनाइएको छ ।










Discussion about this post