माघ १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निर्वाचन लक्षित सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन भइरहेको बताइएको छ । जिल्ल प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेले निर्वाचन लक्षित सुरक्षा योजना बृहत्तर ढङ्गले कार्यान्वयनको पाटोमा अघि बढिरहेको उल्लेख गर्नुभएको छ । उहाँले हाल निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना हाल सम्म सबै पक्षबाट भइरहेको उहाँको भनाई छ ।
रेडियो एभरेष्टसँगको कुराकानीमा प्रजिअ पाण्डेले आचारसंहिता कुनै एक व्यक्ति वा दललाई मात्र नभएर सबै पक्षहरू जस्तै राजनैतिक दल, नागरिक समाज, सङ्घसंस्था, सञ्चार माध्यम सबैलाई उही तरहमा लाग्ने पनि उल्लेख गर्नुभयो । उहाँले सोलुखुम्बु आफैमा हाल सम्म स्वच्छ र शान्त जिल्ला भएर काम भइरहेकोमा अहिले जिल्लामा निर्वाचन केन्द्रित ठूला चुनाैतिहरु नरहेको उल्लेख गर्नुभयो । जिल्लामा रहेका १ सय २३ वटा मतदानस्थलहरूको सुरक्षा, मतदाताको सुरक्षालाई प्रशासनले उच्च प्राथमिकतामा राखिरहेको उल्लेख गर्नुभयो । उहाँले ४ वटै सुरक्षा निकायलाई परिचालन गदैै ३ भागमा मतदान स्थलहरूलाई बाँडेर काम भइरहेको उहाँको भनाई छ ।
कार्यालयले आगामी निर्वाचनका लागी तयार गरिएका मतदान स्थलहरूको निरीक्षण र अनुगमनलाई पनि तिव्रता दिएको जनाइएको छ । भौगोलिक विकटताका कारण हुन सक्ने सम्भावित समस्याहरू जस्तै सञ्चारको कमी, हिमपात जन्य समस्या लगायतलाई जिल्ला प्रशासन कार्यालयले मध्यनजर गरिरहेको पनि प्रमुख जिल अधिकारी पाण्डेको भनाई छ । यस्तै निर्वाचनको अवधीमा हुन सक्ने सामाजिक सञ्जाल दुरुपयोगका अवस्थाहरूलाई नियन्त्रण गर्न केन्द्रिय तहबाटै साइबर सुरक्षाको काम पनि भइरहेकाले निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा हुने उहाँले जिकिर गर्नुभयो ।











Discussion about this post