हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
माघ १६, साेलुखुम्बु । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरकुंश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरहरुप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ ।
वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरणमा शहीद दिवस मनाइएको हो । निरकुंश जहानियाँ राणा शासनविरुद्ध आफ्नोे ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह पनि मनाइन्छ ।
विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याकंन गर्दै माघ १६ लाई शहीद दिवसका रुपमा मनाइएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।











Discussion about this post