माघ १८, सोलुखुम्बु । सोलुखुम्बुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन कार्यालयले जारी गरेको २२ बुँदे सूचना अनुसार, फागुन ४ गतेपछि मात्र चुनावी प्रचार–प्रसार कार्यक्रम सञ्चालन गर्न पाइनेछ ।
राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन र सम्बन्धित व्यक्तिहरूले मात्र आचारसंहितामा तोकिएको मापदण्डभित्र रहेर प्रचार गर्न सक्नेछन् । सूचनामा उल्लङ्घन हुँदा कानुनी कारबाही हुने चेतावनी दिइएको छ । जुलुस, आमसभा, कोणसभा, बैठक, घरदैलो कार्यक्रममा २५ भन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा, झाँकी र बालबालिकाको प्रयोग निषेध गरिएको छ । घर, जग्गा, सार्वजनिक भवन, सडक र बिजुलीका पोलमा झण्डा वा चुनाव चिन्ह टाँस्न नपाइने व्यवस्था गरिएको छ ।
उम्मेदवारले ३३ लाख रुपैयाँभन्दा बढी खर्च गर्न नपाउने, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंकमार्फत लिनुपर्ने, दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न पाउने र विदेशी नम्बर प्लेटको सवारी प्रयोग निषेध छ । सरकारी वा गैरसरकारी निकायबाट आर्थिक सहयोग लिन नपाइने र ‘हरित निर्वाचन’ अवधारणालाई आत्मसात् गर्नुपर्ने व्यवस्था पनि छ । आचारसंहिता उल्लङ्घन देखिएमा जोकोहीले उजुरी दिन सक्नेछन् र दफा ४८ अनुसार कानुनी कारबाही हुनेछ ।











Discussion about this post