माघ १९, सोलुखुम्बु । आगामी निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सोलुखुम्बु जिल्लामा सुरक्षा संयन्त्र सक्रिय बनेको छ । जिल्ला सुरक्षा समितिले सोताङ र महाकुलुङ गाउँपालिकाका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा अवस्थाको मूल्याङ्कन गरेको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेको नेतृत्वमा गरिएको निरीक्षणमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रमुख अधिकारीहरूको सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा मतदानस्थलहरूको अवस्था सामान्य रहेको र विद्यालय प्रशासनसँग आवश्यक समन्वय तथा छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले जिल्लाभरिका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना अनुसार काम भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । सुरक्षाका दृष्टिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ ।
जिल्लाका १० वटा मतदानस्थल अतिसंवेदनशील, ४१ वटा संवेदनशील र ७३ वटा मतदानस्थल सामान्य श्रेणीमा राखिएका छन् । निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मतदानस्थलको सुरक्षालाई प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गरिने भएको छ । भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने योजना रहेको छ ।










Discussion about this post