माघ २०, सोलुखुम्बु । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गर्नु भएको छ । मंगलबार निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले कार्यालय भवन, हिरासत कक्ष तथा सम्पूर्ण शाखाहरूको कामकारबाहीको अवलोकन गर्नु भयो।
उहाँले प्रहरी सेवाको प्रभावकारिता, जिल्लाको शान्ति सुरक्षा अवस्था, विपद् व्यवस्थापनमा प्रहरीको भूमिका, मानव अधिकार प्रवद्र्धन, फैसला कार्यान्वयन तथा अनुसन्धान कार्यलाई गुणस्तरीय, वस्तुनिष्ठ, पारदर्शी र विश्वसनीय बनाउन तदारुकताका साथ कार्य गर्न निर्देशन दिनुभयो । उहाँले जनआस्था निर्माण हुने गरी अनुसन्धान कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न उच्च मनोबलका साथ तयारी अवस्थामा रहन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत निर्वाचन प्रहरीलाई निर्देशन दिनु भयो।
निरीक्षण कार्यक्रमकै क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो। निरीक्षण भ्रमणका अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जिल्लाको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।











Discussion about this post