माघ २०, सोलुखुम्बु । नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल अन्तर्गतको मध्य तालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित हात्तिखोरमा सञ्चालन भएको २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त कवाज सम्पन्न भएको छ। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले युवालाई अनुशासित भई समाज र राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभयो।
उहाँले उन्नत र सभ्य समाज निर्माणमा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका अझ प्रभावकारी हुने बताउनुभयो। राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ७ हजार ७१० छात्र–छात्रा एनसीसी तालिममा सहभागी भएका छन्।
तीमध्ये सिनियर डिभिजनतर्फ १ हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना दीक्षित भएका छन्। चार वटा शिक्षालयमार्फत ७७ जिल्लाका विद्यार्थी सहभागी हुने एनसीसी तालिम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरस्थित मध्य तालिम शिक्षालयबाट मात्रै ५३० छात्र–छात्रा दीक्षित भएका छन्। एनसीसी तालिमले युवामा राष्ट्रसेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, समूहमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ। मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित रूपमा तालिम प्रदान गर्दै आएको छ ।
दीक्षान्त कवाज समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक, रथीवृन्द तथा अधिकृतहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, प्रधानाध्यापक, अभिभावक तथा एनसीसीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसैबीच, महोत्तरी जिल्लाको बर्दिबासस्थित राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयमा समेत निरीक्षणाधिकृत विभागका प्रमुख उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यतामा सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोह आजै सम्पन्न भएको छ ।










Discussion about this post