माघ २६, सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सोलुखुम्बुले जिल्लाका केही विद्यालय र क्याम्पसमा निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनको उल्लङ्घन गर्दै खुला राजनीतिक गतिविधि भएको आरोप लगाउँदै गम्भीर छानबिन र कारबाहीको माग गरेको छ।
युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक शिक्षण संस्थामा कार्यरत शिक्षक, प्रधानाध्यापक तथा क्याम्पस प्रमुखहरू नै निर्वाचनको संवेदनशील अवधिमा राजनीतिक दलका कार्यक्रम र प्रचार–प्रसारमा संलग्न भएको भन्दै ध्यानाकर्षण गराएको हो।
ज्ञापनपत्रमा सिंहकाली आधारभूत विद्यालय , तिंला, हिमगङ्गा मा. वि लिखुपिके तथा सोताङ गाउँपालिकाअन्तर्गत सोताङ पब्लिक क्याम्पसमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा नेपाली कांग्रेसका कार्यक्रम तथा भेला–भड्कामा सहभागिता जनाएको उल्लेख गरिएको छ।
यस्ता गतिविधिले निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा शिक्षा क्षेत्रको तटस्थताको गम्भीर उल्लङ्घन गरेको भन्दै युनियनले सम्बन्धित निकायको मौनतालाई राज्य संयन्त्रको निष्क्रियता र पक्षपातपूर्ण व्यवहारको संकेत भएको बताएको छ।

ज्ञापनपत्रमा विद्यालय र क्याम्पस कुनै पनि राजनीतिक दलको अड्डा बन्न नहुने, शिक्षक तथा शिक्षा प्रशासनसँग आबद्ध पदाधिकारीहरू तलब–सुविधा र सार्वजनिक जिम्मेवारीको दुरुपयोग गर्दै दल विशेषको प्रचारमा लाग्नु निन्दनीय भएको उल्लेख छ।
युनियनले घटनाको तत्काल, निष्पक्ष र गम्भीर छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन तथा यस्ता गतिविधि दोहोरिन नदिन स्पष्ट निर्देशन जारी गर्न प्रशासनसँग माग गरेको छ।
ज्ञापनपत्रमा यदि यस्ता कार्यलाई सामान्य रूपमा लिइयो भने शिक्षा क्षेत्र पूर्ण रूपमा राजनीतिक भागबण्डाको अखडा बन्ने खतरा रहेको चेतावनी दिँदै यसको सम्पूर्ण जिम्मेवारी राज्य संयन्त्र र जिल्ला प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।










Discussion about this post