माघ २८, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले एचपिभी विरुद्धको खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत माघ २८ गतेदेखि सुरु भएको अभियानको पहिलो दिन ५४ जना किशोरीलाई खोप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सचिन श्रेष्ठका अनुसार गाउँपालिकाभित्रका ७ वटा खोप केन्द्रमार्फत उक्त संख्याका किशोरीहरूलाई खोप दिइएको हो। अभियानअन्तर्गत स्वास्थ्य चौकी, आधारभूत तथा माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रासँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिका तथा गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको छ। यो खोप शिविर फागुन १ गतेसम्म सञ्चालन हुने बताइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार एचपिभी खोपले पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत पुर्याउँछ।
नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्ने घोषणा गरेपछि ऐसेलुखर्क गाउँपालिकाले पनि सोहीअनुसार खोप कार्यक्रम अघि बढाएको हो। अभियानअन्तर्गत विद्यालय तथा तोकिएका खोप केन्द्रमा स्वास्थ्यकर्मीहरू पुगेर खोप लगाइरहेका छन्। कार्यक्रम सफल बनाउन महिला स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको गाउँपालिकाले जनाएको छ।










Discussion about this post